१. भौगोलिक अवस्था
यो श्री पञ्चकन्या आधारभूत विद्यालय जिल्ला तेह्रथुम, मेन्छयायेम-६ ( मोराहाङ्ग गा.वि.स. वडा नम्बर ४ र ५ ) को सिमानामा अवस्थित छ। यस ठाउँको धरातलीय अवस्था भौगोलिक आधारमा त्यति मिलेको छैन तर पनि विद्यालय दुई वडाको बिचमा रहेकोले विद्यार्थीहरूको आवत–जावत राम्रो देखिएको छ।
यस विद्यालयमा वडा नं ४, ५, ६ र १२ का विद्यार्थीहरू अध्ययन गर्न आउने गर्छन् भने आङ्बुङ गा.वि.स. वडा नं १ र ७ का विद्यार्थीहरू समेत यहाँ पढ्न आउने गर्छन्। यस विद्यालयको सेवा क्षेत्र प्रायः मिलेको नै पाइन्छ।
- सेवा क्षेत्रभित्र जम्मा १०८ घरधुरी रहेका छन्।
- विद्यालय नजिकै श्री लक्ष्मी प्रा.वि. सल्लेरी पर्दछ, जहाँबाट कक्षा ४ उत्तीर्ण विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गर्छन्।
- सेवा क्षेत्रभित्रका विद्यार्थीहरू करिब ३० मिनेट भित्र विद्यालय आइपुग्छन्।
- आङ्बुङ गा.वि.स. का विद्यार्थीहरूलाई करिब १ घण्टा समय लाग्दछ।
- अन्य वडाबाट आउने विद्यार्थीहरूलाई करिब ४० मिनेट समय लाग्ने गर्दछ।
२. ऐतिहासिक पृष्ठभूमि
यस विद्यालयको स्थापना वि.सं. २०१७ साल ज्येष्ठ २ गते निम्न व्यक्तिहरूको सहयोगमा गरिएको हो। स्थापना कालमा यो विद्यालय वडा नं ४ मा पर्दथ्यो। पछि पुरानो भवन जीर्ण भई पुनः निर्माण गर्दा विद्यालय वडा नं ५ मा पर्न गएको हो।
पहिला यस स्थानलाई “धप्पु सरस्वती थान” भनिन्थ्यो।
तपसिल
- स्व. श्री महानन्द खतिवडा (मोराहाङ्ग–४)
- स्व. श्री रामप्रसाद खतिवडा (मोराहाङ्ग–४)
- श्री सेर बहादुर सम्बाहाम्फे (मोराहाङ्ग–४)
- श्री वासुदेव खतिवडा (मोराहाङ्ग–४)
वि.सं. २०१७ साल ज्येष्ठ २ गते यहाँका अग्रणी सल्लाहकार स्व. श्री महानन्द खतिवडाको अध्यक्षतामा सञ्चालक समिति गठन गरियो।
सञ्चालक समित
| क्र.सं. | नाम थर | पद | ठेगाना |
|---|
| १ | श्री महानन्द खतिवडा | अध्यक्ष | मोराहाङ्ग–४ |
| २ | श्री सेर बहादुर सम्बाहाम्फे | सेक्रेटरी | मोराहाङ्ग–४ |
| ३ | श्री रामप्रसाद खतिवडा | कोषाध्यक्ष | मोराहाङ्ग–४ |
| ४ | श्री वासुदेव खतिवडा | सदस्य | मोराहाङ्ग–४ |
स्थापना कालदेखि नै सञ्चालक समितिले श्री थानेश्वर खनाल लाई प्रधानाध्यापक (Headmaster) पदमा नियुक्त गरी पठन–पाठन सुरु गरियो।
- २०१८ साल मा जनताको सहयोगबाट दुई तले भवन निर्माण गरियो।
- अभिभावकहरूको आर्थिक तथा भौतिक सक्रियताबाट नि:शुल्क शिक्षण सुरु गरियो।
- २०३० साल देखि नयाँ शिक्षा योजना अनुसार कक्षा १ देखि ५ सम्म ५ जना शिक्षक दरबन्दीमा पठन–पाठन सञ्चालन गरियो।
- २०६४ साल देखि निम्न माध्यमिक तह अन्तर्गत कक्षा ६ र क्रमशः हाल कक्षा ७ सञ्चालन हुँदै आएको छ।
३. विद्यालय भवन
यस विद्यालयमा हाल ५ वटा भवन रहेका छन् र १ कम्प्युटर प्योगशाला र १ विज्ञान प्योगशाला रहेका छन।
- २०३४ साल मा जनताको चन्दा सहयोगबाट ४० फिट लम्बाइ र १५ फिट चौडाइ भएको दुई तले भवन निर्माण।
- २०५२ साल मा २ कोठे ब्लक भवन निर्माण भई पठन–पाठन सञ्चालन।
४. जग्गा सम्बन्धमा
यस विद्यालयको कुल जग्गा क्षेत्रफल १४–६–३–५
(चौध रोपनी, छ आना, तीन पैसा, पाँच दाम) रहेको छ।
- जनताबाट चन्दा संकलन गरी ७–६–०–० रोपनी जग्गा खरिद।
- मोराहाङ्ग गा.वि.स. वडा नं ५ निवासी श्री ओमनाथ आचार्य बाट निजी दानस्वरूप १–३–०–० रोपनी।
- मोराहाङ्ग गा.वि.स. वडा नं ४ निवासी हर्क बहादुर लिम्बू बाट २–५–०–० रोपनी।
- मोराहाङ्ग गा.वि.स. वडा नं ५ निवासी श्री टिका राम खतिवडा बाट ४–०–०–० रोपनी दान प्राप्त भएको अभिलेख पाइन्छ।